पार्टी अध्यक्ष र प्रधानमन्त्री परिवर्तन गर्ने खेलले कसैको पनि भलो हुँदैन : पूर्व मन्त्री गोकुल बास्कोटा

विराटनगर, २८ मंसिर । नेकपाका नेता एवम् पूर्व संचार मन्त्री गोकुल बास्कोटाले पार्टीले सरकारले चलाउनेभन्दा पनि नीतिगत निर्देशन मात्र दिन सक्ने बताउनुभएको छ ।

प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बास्कोटाले केपी शर्मा ओलीलाई प्रधानमंत्री पदबाट हटाउन संवैधानिक प्रक्रिया अनुसार संसदीय दलबाट हटाउनु पर्ने र अध्यक्षबाट हटाउन ४ महिना पछिको पार्टी महाधिवेशन कुर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले वार्ता र संवाद बाटै पार्टीको विवाद हल हुुनुपर्ने बताउँदै पार्टी एकताको पक्षमा नेकपाका कार्यकर्ताहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।नेता बास्कोटाले बहुमतको आधारमा पार्टी अध्यक्ष र प्रधानमन्त्री परिवर्तन गर्ने खेलले कसैको पनि भलो नगर्ने र असन्तुष्टि हुने बित्तिकै तीन महिना नबित्दै हटाउने र राख्ने खेल भइरहने आशंका व्यक्त गर्नुभयो । उहाँले स्थायी समितिले प्रचण्डको आरोप पत्र र ओलीको जवाफ पत्रलाई राजनैतिक प्रतिवेदनको रुपमा परिवर्तन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

एक प्रश्नको जवाफमा नेता बास्कोटाले कुनै नेताका विरुद्ध आचरण सम्बन्धी विवाद आएपछि नैतिकता देखाएर राजीनामा दिनुपर्ने र अनुसंधान र परिक्षणका लागि मार्गप्रशस्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।नेता बास्कोटाले अध्यादेश ल्याएर भएपनि संवैधानिक परिषदमा अनिवार्य गरिने उपस्थितिलाई परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विगत ३० महिना देखि संवैधानिक नियुक्ति नहुदा लोकतन्त्रका आधार स्तम्भहरु खाली भएको जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *