नेकपाभित्र सुँड घुसाएर विग्रह ल्याउने प्रयास असफल हुनेछन् : विष्णु पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले केपी ओली नेतृत्वको सरकारले पाँच वर्ष समय अवधीको पूर्ण कार्यकाल पूरा गर्ने दाबी गरेका छन्।

गृहनगर बुटवलमा कान्ति माध्यमिक विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै पौडेलले केपी ओली नेतृत्वको सरकारले ५ वर्षे कार्यकाल पूरा गर्ने मात्र नभई निर्वाचनका बेला घोषणापत्रमा गरिएका प्रतिबद्धता पूरा गर्ने दाबी गरे।

अर्थमन्त्री पौडेलले नेकपाभित्र देखापरेको अन्तरविरोधले नेकपाको एकता र सरकारको भविष्यमाथि कुनै असर नपार्ने समेत बताए।

उनले नेकपामा विग्रह ल्याउने र एकतामा भाँजो हालेर ठूलो भाग खाऊँला भनेर सपना देख्नेहरूलाई पनि सपना नदेख्न आग्रह गरे। ‘नेकपाभित्र सुँड घुसाएर विग्रह ल्याउने र नेकपा र नेकपाको सरकारलाई कमजोर बनाउन खोज्ने प्रयास सबै असफल हुनेछन्’, उनले भने, ‘नेकपाको एकता पनि भाँडिदैन र केपी ओली नेतृत्वको अहिलेको सरकारले पनि पूरा कार्यकाल पूरा गर्छ।’

बुटवलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका अर्थमन्त्री पौडेलले बुटवल प्रदेशको केन्द्र होइन देशकै केन्द्र बन्ने प्रक्रियामा रहेको बताए।

१० वर्ष अगाडिको बुटवल र अहिलेको बुटवलको विकासको स्वरूप तीव्र गतिमा अगाडि बढेको उल्लेख गर्दै अबको १० वर्ष भित्रमा बुटवल आर्थिक, वाणिज्य, पर्यटन, शिक्षा र पर्यटनको केन्द्र बन्ने दाबी गरे।

उनले बुटवल साँघुरिएकाले बुटवलको सुन्दरतालाई बचाई राख्न छिमेकी पालिकालाई समेट्दै बहुतले र व्यवसायिक भवन निर्माणमा जान आग्रह गरे। केही व्यक्तिहरूको अवरोधका कारण बुटवलको सडक निर्माण कार्य वर्षौंदेखि रोकिएको भन्दै अर्थमन्त्री पौडेलले अब बुटवलवासीले बिग्रिएको बुटवल अनुहार हेरेर बस्न नसक्ने र सडक बिस्तारको काम अगाडि बढ्ने बताए।

उनले सरकारले व्यक्तिको जग्गा अनधिकृत रूपमा कब्जा नगर्ने तर विकास निर्माणमा अवरोध गरिए प्रक्रियागत रूपमा हटाएर भए पनि विकास आयोजना अगाडि बढाउने बताए।

अर्थमन्त्री पौडेलले बुटवलका शिक्षण संस्थाहरू भौतिक पूर्वाधारको हिसाबले पूर्ण बन्दै गएकोले अब गुणस्तरीय शिक्षा र सीपयुक्त जनशक्ति निर्माणमा ध्यान दिन शैक्षिक संस्थाहरूलाई आग्रह गरे।

निर्माणाधीन विकास आयोजनाको गुणस्तर र समयमा कुनै सम्झौता नगर्न पनि उनले निर्माण कम्पनीलाई आग्रह गरे।

कान्ति माविका अध्यक्ष हेमानन्द शर्माले विद्यालयलाई लुम्बिनी प्रदेशमै प्लस टुमा विज्ञान विषयको हबको रूपमा विकास गरी खोज, अनुसन्धान र सिकाइको केन्द्र बनाउने लक्ष्य रहेको बताए।

सोही अनुरूप प्रदेश सरकार र संघीय सरकारको समपूरक बजेट अन्तर्गत १३ करोड ६५ लाख रुपैयाँ लागतमा ४ तले ३५ कोठे विज्ञान भवन र ३/३ तले २४/२४ कोठाका दुइटा छात्र/छात्रावास भवनको शिलान्यास गरिएको हो।

शिलान्यास गरिएका भवन आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी अर्घाखाँची लुम्बिनी जेभी विल्डरले ठेक्का सम्झौता गरिसकेको छ।

२०१० सालमा ‘गणेश जनता विद्या भवन’ प्राथमिक विद्यालयको नामबाट पठनपाठन सुरू गरेको कान्ति माविमा हाल ३ हजार ७ सय ५८ जना विद्यार्थी अध्ययनरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *